newskoseli.Com

एकैसाथ ५ वायु प्रणाली सक्रिय : साताभर नै झुलुक्क घाम लाग्दै, निरन्तर वर्षा भैरहने

नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेका छन् । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।

नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागमा वर्षा गराउने न्यूनचापीय प्रणाली कायम रहेको छ । त्यस्तै, बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय रहेको छ । पूर्वमनसुन (प्रिमनसुन) को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुख्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैका कारण एक सातासम्म निरन्तर वर्षा हुने अनुमान महाशाखाले गरेको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्– ‘अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ ।’ पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उनले बताइन् ।

तर, वर्षाको समयको झरीजस्तो लगातार वर्सिरहने गुण भने यसमा नरहने उनले प्रस्ट्याइन् । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै, प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने खबर चाँदनी हमालको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर