विभाजनको चरणमा पुगेर जोगिएको सत्ताधारी नेकपामा स्थायी कमिटी बैठकको एजेण्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ सम्मको विषयले विवाद निम्तने देखिएको छ । दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठकमा विवाद बल्झने संकेत गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायतका मुद्दामा सहमति नभएको हो । स्थायी कमिटीका एजेण्डा तथा बैठक कति लामो बनाउने र कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन ।
दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेण्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो । तर, उनीहरूबीच मंगलबार छलफलै भएन । उनीहरूले बुँदागत रूपमा एजेण्डा तयार पार्ने जनाइएको छ । दाहालले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ । नेकपाले बुधबार (२४ वैशाखमा) सचिवालय बैठक र बिहीबार (२५ वैशाखमा) स्थायी कमिटीको बैठक बोलाएको छ ।
‘प्रधानमन्त्री अलिक चिन्तित र तनावयुक्त मुडमा हुनुहुन्थ्यो, मैले उहाँलाई पार्टीलाई सम्मान गर्नुपर्छ; पार्टी सर्वोपरी संस्था हो, पार्टीकै कारणले हामी सबै विभिन्न पोजिसनमा छौं, तपाईं प्रधानमन्त्री भएकै पनि पार्टीकै कारण हो; पार्टीका नीति र निर्णयहरू, विधिहरूलाई सम्मान गर्नुपर्छ; त्यसलाई लागू गर्नुपर्छ, दृढतापूर्वक पार्टीको पक्षमा उभिनुपर्छ, त्यहाँभन्दा अर्को विकल्प छैन; मेरो हार्दिक सल्लाह पनि तपाईंलाई त्यही छ भनेर आफ्ना कुरा राखें,’ वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसँगको भेटबारे भने– ‘उहाँ चिन्तित भएको पाएँ ।’
ओलीले भने आफूविरुद्ध भएका घेराबन्दीदेखि पारिएका असहजताका विषयमा छलफल केन्द्रित गरेका थिए । ‘आफूलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा उहाँ अलिक उद्वेलित हुनुहुन्थ्यो,’ ओलीसँगको संवादबारे थप खुलस्त पार्दै खनालले भने– ‘तर, मैले यसरी उत्तेजनामा आउनुहुँदैन, संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेको छु ।’
संगठनात्मक एकताका क्रममा विधाविपरीत नेताहरूलाई दिइएको दोहोरो जिम्मेवारी खुम्चाउन ओली लचक देखिएका छैनन् । उनी स्थायी कमिटीको बैठक सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी र कोभिड– १९ रोकथाम तथा नियन्त्रणका विषयमा मात्र केन्द्रित गरेर छोटो अवधिका लागि मात्र आयोजना गर्नुपर्ने पक्षमा देखिएका छन् ।
दाहाल–नेपाल पक्षका नेता भने शीर्ष नेताहरूले मुख थुन्न नपाउने, सरकारका कामदेखि अध्यादेश प्रकरण र त्यसपछिका परिघटनासम्ममा खुलस्त छलफल गर्न पाउनुपर्ने पक्षमा देखिएका छन् । ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ का विषयमा पहिलेका संगठनात्मक कमजोरी सच्याउनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरु उभिन थालेपछि प्रधानमन्त्री ओली दाहाल–नेपाल पक्षको रणनीतिप्रति सशंकित देखिन थालेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।