देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जीटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो ।
कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो । जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पीपीई, एन– ९५ मास्क, पीसीआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायतका आवश्यक सामग्री तत्काल ल्याउने तयारी गरेको थियो ।
आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिव ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी थियो । हवाई उडानबाट २० टन र बाँकी स्वास्थ्य उपकरण र सामग्री तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता गरेको थियो । स्थलमार्गबाट बाँकी सामान ग्वान्जाओबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता छ ।
ग्वान्जाओबाट काठमाडौंसम्म सामग्री आइपुग्न आउन कम्तिमा दस दिन लाग्ने भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।