कानुनी रूपमा दर्ता नै नभई सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले २ खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ ।
यी व्यवसायको वार्षिक खर्च १ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ रहेको र नाफा करिव ७२ अर्ब रुपैयाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर ४ लाख ५८ हजार ८ सय ५७ वटा त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपैयाँ छ ।
दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको सङ्ख्या सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार देशभर २ लाख ७८ हजार ४ सय ५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपैयाँ रहेको खबर विश्वास रेग्मीको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।