बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको पछिल्ला दुई परीक्षणमा दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।
नेगेटिभ रिपोर्ट आएका उनीहरुको दोस्रो पटक कोरोना जाँच गर्दा पनि नेगेटिभ नै नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको डा. विनोद डंगोलले बताए । डिस्चार्ज हुनेमा पहिलो पटक संक्रमित भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगञ्ज उपमहानगरपालिका– ८, अन्सारी टोलका रहेको डा. डंगोलले जानकारी दिए ।
आइसोलेसनबाट डिस्चार्ज हुने खबरले ती सबै उत्साहित छन् । घर जाने खुसीमा ३७ वर्षीय व्यक्तिले कोरोना संक्रमण र आइसोलेसनको अनुभवबारे फोनमा भने– ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरुलाई पनि बचाउनु रहेछ, घर फर्कन पाउने भएकाले ठूलै युद्ध जितेजस्तै महसुस गरेको छु ।’
एकैसाथ ठूलो संख्यामा निको हुनेहरुबारेको यो सुखद् खबर मधु शाहीको बाइलाइनमा कान्तिपुर अनलाइनमा शुक्रबार प्रकाशित छ ।