newskoseli.Com

‘कोरोनाको केन्द्रविन्दु’ भुल्केको कस्तो छ हालखबर ?

राजन राउतले घरको आँगनभन्दा बाहिर निस्कन नपाएको ३५ दिन भयो । कोरोनाभाइरस रोग (कोभिड– १९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । लकडाउन आफ्नै सुरक्षाका लागि भए पनि अब भने कठिन हुँदै गएको उनी बताउँछन् ।

यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नुजस्तै भएको उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्के गाउँका ५० वर्षीय राउतले बताए । नेपालमा पहिलो पल्ट २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ । अब परीक्षण नतिजाको प्रतीक्षा रहेको जानकारी उनले दिए ।

यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारक (जमाती) मा वैशाख ५ मा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल गर्‍यो । सङ्क्रमण फैलन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखिएको छ । कडाइका साथ लकडाउनको परिपालना गरिएको छ ।

चैत ११ देखि गरिएको लकडाउनबाट स्थानीयवासी घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । सुरुका दिनमा लकडाउनको प्रभावकारी परिपालना नदेखिएको स्थानीयवासीको भनाइ छ । आफ्नै टोलमा एकाएक ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो ।

अब बाँचिँदैन कि जस्तो हुन थालेको बताउँछन् स्थानीयवासी चक्रपाणि पोखरेल । विभिन्न अडकलबाजी गर्नेहरूका कारण चिन्ता अझ बढेको भन्दै सामाजिक सञ्जालमा त भुल्के बम नै भएको बताउँछन् पोखरेल । ‘तर अब बिस्तारै कुरा बुझ्न थालियो, आफैं सचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ’– अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको उनी बताउँछन् ।

कतिपयले जात र धर्म जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकामा अहिले त्यस्तो स्थिति नरहेको बताउँछन् स्थानीय अनिश मियाँ । सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकाले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको उनले बताएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर