newskoseli.Com

विदेशबाट फर्केनेलाई ‘होल्डिङ सेन्टर’ मा राखिँदै : काे–काे, कहाँ–कहाँ ?

भारतलगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यकाभित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएका छन् । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश– ५ का नागरिकलाई काठमाडौंमा; कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरमा र प्रदेश– १ तथा २ का नागरिकलाई भक्तपुरमा राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरिएका हुन् ।

तीनवटै जिल्लाका विपत व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरेका हुन् । त्यसका लागि विदेशबाट फर्केका नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसँगै कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलन नदिनका लागि उपत्यकामा छुट्टै राख्न उपत्यकाका तीनवटै सीएमसीले तीनवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख एवं सीएमसी काठमाडौंका सल्लाहकार शिवसुन्दरराज वैद्यले जानकारी दिए ।

उनका अनुसार बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस बसुन्धारा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश– ५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएका छन् । त्यस्तै, भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्संग केन्द्र कीर्तिपुर र राधा स्वामी सत्संग ब्यास नेपाल सामाखुसीमा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएका छन् ।

भक्तपुरमा प्रदेश– १ का नागरिकका लागि सल्लाघारीस्थित इम्पेरियल पार्टी प्यालेस र प्रदेश– २ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए । ललितपुर सीएमसीका सदस्य एवं राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्को मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर