लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक मलेसियन युवकलाई ‘जूम भिडिओ कल’ मार्फत नै सिंगापुरले मृत्युदण्ड सुनाएको छ । यसरी टाढैबाट (‘भर्चुअल’ माध्यमबाट) मृत्युदण्डको सजाय सुनाइएको सिंगापुरमा यो नै पहिलो घटना हो ।
पुनिथन गेनसान नामका ३७ वर्षीय मलेसियन नागरिकमाथि शुक्रबार यस्तो सजाय सुनाइएको हो । यहाँको अदालतका अनुसार २०११ मा ती युवक गैरकानुनीरुपमा लागूऔषध लेनदेनमा जिम्मेवार थिए । कोरोनाभाइरसविरुद्ध लकडाउनका कारण ती युवकलाई भिडियो कलमार्फत नै सजाय तोकिएको हो ।
मलेसियन ती नागरिक स्वयं पनि भिडियो कलमा संलग्न थिए । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार यसरी भौतिक रुपमा टाढा नै रहेर मृत्युदण्ड सुनाइएको सिंगापुरमा यो पहिलो घटना हो । अधिकारकर्मीहरुले भने यस्तो राष्ट्रिय मुद्दामा जूम कलमार्फत फैसला सुनाइनु उचित नभएको भन्दै आलोचना गरेका छन् ।
लकडाउनको अवधिमा तोकिएका सुनुवाइ स्थगित भइरहँदा सिंगापुरमा यो मुद्दाजस्तै अरू अत्यावश्यक मुद्दामा समेत अदालतले टाढैबाट फैसला गर्न थालेको छ । अमेरिकाबाट सुरु भएको जूम भिडियो कल पछिल्लो समय विभिन्न देशका सरकारी कामकाजमा प्रयोग गर्न थालिएको खबर अन्नपूर्ण पोस्ट अनलाइनले प्रकाशित गरेको छ ।