चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् ।
उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । ‘नेपालका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ’– मौसमविद् कँडेलले भनिन् । भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ ।
निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ । देशका मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश– ५ मा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश– ५ का धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
शनिबार प्रदेश– १, प्रदेश– २ र वाग्मती प्रदेशका केही तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको खबर गोरखापत्रले बिहीबार प्रकाशित गरेको छ ।