नेपालको उत्तरी सीमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट २०२६ वैशाख १७ मा फिर्ता पठाइए तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८औं पोस्ट फिर्ता भएन ।
२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटे–नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ । २०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटे–नहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ ।
दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो । स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झन्डै ४० पेज लामो प्रतिवेदन बुझाएको खबर भुवन शर्माको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।