सत्ताधारी नेकपामा नेताहरू पार्टीको स्थायी कमिटीको बैठक माग गरेर अझै थाकेका छैनन् । उनीहरूले लगातार बैठकको माग गरेकै डेढ महिना भयो । स्थायी कमिटीका २० जना नेताले पार्टीको बैठक बोलाउन माग गरी वैशाखमै अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए ।
४५ सदस्यीय स्थायी कमिटीका २० सदस्य अर्थात् झन्डै ४५ प्रतिशत नेताले स्थायी कमिटीको बैठक बोलाउन वैशाख १० मै माग गरेका थिए । त्यसयता वैशाख २५ र ३१ का लागि स्थायी कमिटीको बैठक मिति त तोकियो तर बैठक भने बसेन । विधानतः तीन महिनामा स्थायी कमिटीको बैठक बस्ने नियमित प्रक्रिया पनि हो । न सदस्यहरूले माग गरेअनुसार नेकपाले बैठक बोलाउन सकेको छ न त विधानको नियमित प्रक्रियाअनुसार नै बैठक बसेको छ ।
विधान मान्ने हो भने पार्टी कमिटीका २५ प्रतिशत नेताहरूले लिखित माग गरेमा एक महिनाभित्र केन्द्रीय कमिटीको र १५ दिनभित्र मातहत कमिटीको बैठक बोलाउनुपर्छ । अन्तरिम पार्टी विधानको धारा ५९ (४) मा त्यस्तो स्पष्ट व्यवस्था छ । बैठक बोलाउन अहिले फेरि पार्टी नेतृत्वलाई नेताहरूले दबाब बढाउन थालेका छन् । तर, अहिलेसम्म नेतृत्वले बैठकको टुंगो लगाउन नसकिरहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।