नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्डलाई पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुन सक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।
‘लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो’– टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उनको भनाइ छ । नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन् । यस बाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका निम्ति उपयोग गरिरहेको छ ।
९८४ र ९८६ बाट टेलिकमले बढीमा २ करोड सिमकार्ड नम्बर सिर्जना गर्न सक्छ । गत मङ्सिरमै प्रिपेडतर्फको २ करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको खबर विश्वास रेग्मीको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।