कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोवास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भय समेत बढ्न थालेको भन्दै प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजान समेत विज्ञहरूले सुझाव दिएका छन् । लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
आन्दोलनको मोडालिटी परिवर्तन गर्न समेत आन्दोलनमा उत्रिएका नागरिकलाई उनीहरूले सुझाव दिएका छन् । कुनै व्यक्तिलाई कोरोनाभाइरस संक्रमण पुष्टि भए श्वास–प्रश्वासको माध्यमबाट कोरोनाभाइरस फैलने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ ।
हाल राजधानीलगायत देशका विभिन्न स्थानमा सरकारविरुद्ध दैनिकरुपमा प्रदर्शनकारी सडकमै उत्रिएर ‘आन्दोलन’ गर्दै आएका छन् । संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुतर्फ गइरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पुनले दिएको खबर प्रशान्त वलीको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।