नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताका ‘अवाञ्छित गतिविधि’ ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ । उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ ।
जंगी अड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा ‘विप्लव समूह’ का गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ । यसका साथै कोरोना रोकथाममा सेनाले गरेका काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए । ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड– १९ रोकथामलगायत विषयमा छलफल जारी छ’– प्रवक्ता पाण्डेले भने । विप्लवका कार्यकर्ताका ‘अवाञ्छित गतिविधि’ लाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको छ । बैठक आइतबार सकिनेछ ।
प्रहरीले विप्लव नेकपाका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० मा ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो । बज्राचार्य हतियार तथा विस्फोटक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनले उपत्यकाका विभिन्न स्थानमा हतियार भण्डारण गरेको पाइएको छ ।
उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि त्यसबाट चुनौती खडा भएको जंगी अड्डाले जनाएको हो । विस्फोट गराउनेजस्ता ‘आपराधिक गतिविधि’ मा संलग्न भएको भन्दै सरकारले ‘विप्लव समूह’ का गतिविधिमाथि ‘प्रतिबन्ध’ लगाएको छ । उनीहरूले लकडाउनको मौकामा विभिन्न स्थानमा विस्फोटका घटना गराउनेतर्फ सजग हुनुपर्ने जंगी अड्डाले विश्लेषण गरेको छ । सरकारका सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेका बेला त्यसको फाइदा उठाउँदै उनीहरूले विस्फोट गराएर आतंकित बनाउन सक्नेतर्फ जंगी अड्डा सचेत भएको हो ।
बैठकमा उपत्यकासहित सबै प्रदेशका पृतनापतिले आ–आफ्नो क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सेनाले गरेका कार्यबारे उनीहरूले रिपोर्टिङ गरेका थिए । विदेशबाट फर्किका नेपालीको व्यवस्थापन गर्दा आइपरेका चुनौती र त्यसको सहजीकरणको उपायबारे समेत बैठकमा छलफल भएको खबर शम्भु कट्टेलको बाइलाइनमा अन्नपूर्ण पोस्ट अनलाइनमा प्रकाशित छ ।