नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १० हजार पुग्नै लाग्दा सरकारले फेरि लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ जना मात्र रहँदा १० चैत, २०७६ को साँझ निर्णय गर्दै सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो ।
लकडाउन सुरु गर्दा सरकारले सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सीमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न समेत प्रतिबन्ध लगाएको थियो । ७९ दिन यस्तो लकडाउन गरिसकेपछि सरकारले लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने निकै नै बढेर गएकाले पुनः लकडाउन हुने अड्कलबाजी हुन थालेका छन् ।
सरकारी अधिकारी भने अब पहिलेजस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिलेजस्तो सोलोडोलो लकडाउन नहुने बताउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने र अरू क्षेत्र खुला नै रहने गरी अहिले काम भइरहेको उनी बताउँछन् । सरकारले कोरानासँग लड्ने लकडाउन रणनीति परिवर्तन गरेको समेत पाइएको छ ।
अब भने सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधिजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति सरकारले अघि सारेको खबर टेनिस रोकाको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।