नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा जाने नेपाली भने त्यसको औसत आधा उमेरमै बित्छन् । यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । वर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो । पछिल्लो एक दशकमा करिव ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ । श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक उसले राख्दैन ।
सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गर्यो । तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट वर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन् । तीमध्ये दैनिक ३ जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ ।
श्रमविज्ञ डा. गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक तथ्य पहिचान हुन सकेको छैन । शव पोस्टमार्टम नगरी पठाइने गरेकाले मृत्युको कारण खुल्न नसकेको हो । स्वदेश ल्याएपछि पनि सरकारले पोस्टमार्टम नगरी आफन्तलाई पार्थिव–शरीर बुझाउने गरेको छ । श्रम सम्झौता हुँदा बीमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्रै पनि मृत्युको तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङको भनाइ छ ।
मृत्युको कारण खोज्न सर्वोच्च अदालतले २०७४ कात्तिकमा आदेश दिए पनि कार्यान्वयन गर्न सरकारले चासो दिएको छैन । त्यसो त सरकारले सोही वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदलले मृत्युको कारण र रहस्य पत्ता लगाउन अनुसन्धान गरे पनि निचोड निकाल्न सकेको थिएन ।
श्रम गन्तव्य मुलुकमा हुने मृत्युको कारण पत्ता लगाउन अनिवार्य पोस्टमार्टम गराउनेदेखि सुरक्षाका विभिन्न उपाय अपनाउन आदेश दिए पनि कार्यान्वयन गर्न सरकारले चासो नदिनु दुःखद् भएको अनुसन्धानकर्ता रामेश्वर नेपालले बताए । कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको विज्ञ बताउँछन् । त्यस्तै, धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले नेपालीले ज्यान गुमाइरहेका छन् । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण वर्सेनि नेपालीको ज्यान गइरहेको अनुसन्धानकर्ता नेपालले बताए ।
यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ । चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको विज्ञ बताउँछन् । दिनभर ५५ डिग्री तापक्रमसम्ममा काम गर्ने र राति एसीमा सुत्ने प्रवृत्तिले गर्दा बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु (सडेन डेथ) र कतारमा मुटुको कारण मृत्यु (कार्डियाक डेथ) हुने गरेको पाइएको खबर तुलसी सुवेदीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।