प्रधानमन्त्री खड्ग ओलीले दुई वर्षअघि देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न; म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने सपथ गराए । तर, यो सपथ व्यवहारमा भने पटक्कै लागू हुन सकेको देखिँदैन ।
प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिज्याइरहेको छ । पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गतवर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ । गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा कर्मचारीले सपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए । ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने– ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’ भ्रष्टाचारकाे वर्तमान स्थितिबारेकाे याे खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।
अझ कर्मचारीभन्दा पनि उच्च राजनीतिक र नेतृत्व तहले नै मच्चाएका धेरै वटा र ठूलठूला भ्रष्टाचारका प्रकरण अख्तियारको हातमा पुगिसकेका छैनन् । नेतृत्व तहकाे अनियमितता, भ्रष्टाचार र राज्यशक्तिको दोहनलाई हेर्दा ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नाराले स्वयं प्रधानमन्त्री ओली र उनको टिमलाई गिज्याइरहेको प्रस्टै देखिन्छ ।