स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।
पछिल्लो एक सातामा औसत दैनिक ५ हजार ८ सय ९ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । २६ जेठमा बसेको संसद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए । निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पीसीआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो ।
जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घन्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने उनले बताए पनि कार्यान्वयन भएन ।
आज (सोमबार) देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ’– उनले भनेको खबर प्रशान्त वलीको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।