newskoseli.Com

नेकपाभित्र कडा शक्ति–संघर्ष : दाहाल–नेपाल र ओली पक्षका के–के कसरत ?

सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे । राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे ।

अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत जसरी पनि ओलीलाई राजीनामा गराउने गृहकार्यमा उसरी जुटे । प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो ।

त्यहाँ उनीहरूले स्थायी कमिटीका बहुमत सदस्यहरूलाई बोलाएर सकभर ओलीलाई सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने कार्यसूची तय गरे । ओली सहमतिमा आउन नचाहे बहुमत–अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने गरी निर्णय लिने निष्कर्ष झम्सिखेलमा निकालेका थिए ।

दाहाल–नेपाल पक्षले दबाब बढाएर पद छाड्न लगाउन खोजे पनि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने रणनीति बनाएका छन् । ओलीले बिहान बालुवाटारमा आफूनिकट स्थायी कमिटीका सदस्यसहित दाहाल र नेपाल पक्षका केही नेतालाई बोलाएर छलफल गरेका थिए । साँझ दाहाल–नेपाल पक्ष झम्सिखेलमा जुटेको खबर पाएपछि बालुवाटारमा पनि ओली पक्षका नेताले गहन छलफल चलाए ।

पार्टीका नेताहरूले भन्दैमा दबावकै भरमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने निष्कर्ष ओली पक्षले निकालेको छ । प्रधानमन्त्री संसदीय दलले चयन गरेको र दुई पार्टी एकताका क्रममा विधानमै दुई अध्यक्षको व्यवस्था गरिएको भन्दै दबाब दिँदैमा अहिले दुवै पद छोड्न नसकिने निष्कर्षमा ओली पक्ष देखिएको हो । यसका लागि दाहाल–नेपाल पक्षमा रहेका मध्यमार्गी धारका स्थायी कमिटीका सदस्यहरूसँग पनि ओली पक्षले बाक्लो छलफल गरेको छ ।

ओलीले बुधबार दाहाल–नेपाल निकट नेताहरूलाई पनि आफूनिकट नैताहरूसँगै राखेर छलफल गरेका थिए । ओलीसँगको छलफलका लागि नेपाल निकट मानिएका मन्त्रीहरू योगेश भट्टराई र घनश्याम भुसाल तथा दाहालनिकट मानिएका नेताहरू टोपबहादुर रायमाझी र मणि थापा पुगेका थिए । पूर्वमाओवादी धारकै नेताहरू गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट पनि बालुवाटार गएका थिए ।

बुधबार बिहानको सो छलफलमा नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवाद तन्काउनेभन्दा पनि समाधानका लागि उपयुक्त विकल्प पहिचान गरेर अगाडि बढ्न सुझाव दिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर