newskoseli.Com

नेकपा ‘जोगाउन’ शीर्ष नेताहरुको दौडधुप

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ‘गम्भीर संकट’ उत्पन्न भएपछि शीर्ष नेताहरूले ‘पार्टी जोगाउन’ दौडधुप तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ ।

ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल निवास खुमलटारमा जम्मा भई पटक–पटक संवाद र वार्ता गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास शीतलनिवास पुगेर पनि नेताहरूले ‘समाधानका उपाय’ खोजिरहेका छन् ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान र राजीनामा दिनु नहुने ओली समूहको अडानले नेकपाको जारी स्थायी कमिटी बैठक समेत प्रभावित भएको छ । बैठक चल्दै गर्दा बीच–बीचमै रोक्ने र एकले अर्काप्रति आशंका गर्ने कारणले पार्टी फुटको संघारमा पुग्न सक्ने संकेत देखिएको स्थायी कमिटीका सदस्यले बताएका छन् ।

पार्टीमा गम्भीर संकट उत्पन्न भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टी एकतामा गम्भीर संकट पैदा गरेको निष्कर्ष स्थायी कमिटीको बैठकले निकालेको श्रेष्ठले बताए । पार्टीमा देखिएको संकट समाधान गर्ने उद्देश्यले स्थायी कमिटीको अर्को बैठक शनिबार मात्र बस्ने भएको छ । त्यसयता अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए ।

‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ श्रेष्ठले भने– ‘संकट समाधानका लागि अध्यक्षद्वयका साथै सचिवालयस्तरका नेताका बीच छलफल गर्ने उद्देश्यले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ सत्ताधारी नेकपाभित्रको रडाकोसम्बन्धी यो खबर सुभाष साहको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर