सत्ताधारी नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री खड्ग ओलीले गरेको एउटा ‘गोप्य’ भेटघाटले तरंग ल्याएको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।
नेकपाभित्र शक्ति–संघर्ष सतहमा आइरहेका बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेका हुन् ।सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिको दावीअनुसार त्यस दिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो । यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको जानकारी देउवाले गराएको निधिको भनाइ छ ।
ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सशंकित बनेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।