सत्ताधारी नेकपाभित्र चर्किएको विवाद ‘समाधान गर्न’ आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आ–आफ्नो अडानमा यथावत् रहँदा विवादको समाधान निस्कन सकेको छैन ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट आलीको राजीनामा मागिएको प्रकरणले नेकपाका शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि हालसम्म उपलब्धि शून्य नै छ । ओली र दाहाललाई ‘सहमतिमा ल्याउन’ दोस्रो पुस्ताका नेताहरूले पहल थालेका छन् । ओली र दाहालका बीचमा भएको छलफलमा नेकपाका सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल तथा स्थायी कमिटीका सदस्य शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा समेत सहभागीता भएका छन् ।
दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुनः छलफल गर्ने सहमति भएको महासचिव पौडेलले बताए । सोमबार स्थायी कमिटीको बैठक समेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ । शीर्ष तहमा चर्किएको विवाद समाधानका उपाय खोज्न उपप्रधान एवं रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटीका सदस्य शर्मासहितको चार सदस्यीय अघोषित कार्यदल समेत गठन भएको छ ।
अनौपचारिकरूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्न प्रयास गर्ने बताइएको छ । आइतबार साँझ दाहाल निवास खुमलटारमा यो कार्यदलको बैठक समेत बसेको नेकपा स्रोतले जनाएको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।
अपडेटः
यसैबीच, विवादकै कारण यसअघि पटक–पटक स्थगित हुँदै साेमबारका लागि निर्धारित नेकपाकाे सचिवालय बैठक २ दिनका लागि फेरि स्थगित भएकाे छ । उक्त बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएकाे खबर साे पार्टीले साेमबार बिहान सम्प्रेषण गरेकाे छ ।