newskoseli.Com

कांग्रेसको नीति : नेकपा नफुटेसम्म सत्तासाझेदारीबारे मौन रहने

प्रधानमन्त्री खड्ग ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच असार १७ को साँझ बालुवाटारमा भेट भयो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे ।

नेकपाभित्रको विवाद चर्कंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेताहरूसँगको भेटबारे देउवासँग जवाफ नै मागे । तर, ‘अनावश्यक कुरा’ गरेको भन्दै देउवा झोंक्किए ।

‘वरिष्ठ नेता भएर यस्ता अनावश्यक कुरा गर्ने ? देउवाले संक्षिप्तमा भने– ‘सत्ता साझेदारीबारे कुनै कुरा भएको छैन ।’ नेता पौडेलले कांग्रेस यतिबेला सत्ताको जोड–घटाउमा लाग्नु उपयुक्त नहुने भन्दै संशय व्यक्त गरे । देउवाले भने संवैधानिक परिषदको बैठक र विभिन्न आयोगमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल भएको जानकारी दिए ।

नेम्बाङसँगको भेटबारे नेता डा. मीनेन्द्र रिजाललाई सबै कुरा थाहा भएको भन्दै उनी पन्छिए । ‘सुवास नेम्बाङजीले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गर्न सभापतिज्यूसँग भेट गर्नुभएको हो,’ नेता डा. रिजालले भने– ‘अस्ति प्रधानमन्त्री र सभापतिज्यूबीच भएको छलफलअनुसार संवैधानिक परिषदको बैठक बोलाउने र रिक्त आयोगमा मनोनीत गर्नेबारे छलफल भयो । त्योभन्दा अरू, थप केही छलफल नै भएन ।’

संवैधानिक परिषद् बैठकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि सभापति देउवा बालुवाटार गएको प्रवक्ता विश्वकर्मा शर्माले उल्लेख गरे । ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा आधा घन्टा छलफल भयो,’ प्रवक्ता शर्माले भने– ‘अन्तिममा प्रधानमन्त्रीले पार्टीभित्र आफूलाई असहयोग भएको, सरकार के हुने भन्ने अन्योल भइरहेको, यस्तो बेला तपाईंको सहयोग आवश्यक हुन्छ भनेर प्रस्ताव गर्नुभयो ।’ देउवाले भने पार्टीमा मिलेर अघि बढ्न शुभकामना दिएको प्रवक्ता शर्माले उल्लेख गरे ।

कांग्रेस स्रोतले भने प्रधानमन्त्रीले सम्भावित सत्ता साझेदारीबारे प्रस्ताव गरेपछि देउवाले आफूनिकट नेतारूसँग छलफल चलाएको जनाएको छ । पार्टी विभाजन भए सम्भावित सत्ता साझेदारीका लागि देउवा र उनीनिकट नेताहरुसँगको भेटलाई नेकपाका दुवै पक्षले तीव्रता दिएका छन् । सभापतिभन्दा पनि दोस्रो तहका नेता नेकपाका दुवै पक्षसँग सम्पर्कमा रहेको एक नेताले बताए ।

‘हामी नेकपा फुटोस् र सरकारमा जाऔंला भनेर कुरेर बसेका छैनौं,’ ती नेताले भने– ‘उहाँहरू फुट्नुभयो र कांग्रेस सहभागी नभई सरकार नबन्ने अवस्था आयो भने त्यसबारे छलफल गर्न सकिन्छ ।’ सत्ताधारी नेकपाको विवाद र कांग्रेसको प्रसंगसम्बन्धी यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर