newskoseli.Com

काठमाडौंमै ‘सुटुक्क’ दलाई लामाको जन्मोत्सव !

नेपालमा रहेका तिब्बतीहरुले धार्मिक नेता दलाई लामाको ८५औं जन्मदिन सुटुक्क मनाएका छन् । न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए ।

कोरोनाभाइरसको जोखिमलाई कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाई लामाको जन्मोत्सव मनाएका हुन् । कार्यक्रममा दलाई लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए ।

लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो । सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको संयोजक ग्यात्सोले बताए । ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन,’ उनले भने– ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं ।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन् । उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमै सार्वजनिकस्थलमा कार्यक्रम गरेका थिए ।

त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो । यस पटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको खबर शम्भु कट्टेलको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर