लकडाउनका कारण ३ महिना १५ दिन बन्द भएका सार्वजनिक सवारी साधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषदको निर्णय छ ।
बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिए । सरकारको निर्णयअनुसार अब काठमाडौं उपत्यकाभित्र र अरु जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीमा चल्ने सवारी साधनलाई खुला गरिएको छैन ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा मात्र यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन्, दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पञ्जा लगाउनुपर्ने छ । दिनको एक पटक सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्नुपर्ने छ । ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनले डेढ गुणा बढीसम्म भाडा असुल्न पाउने सरकारकाे निर्णय छ ।
तर, यातायात व्यवसायीमा भने सरकारको निर्णयप्रति अन्योल देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ट्याक्सी र छोटो दूरीको भए पनि यातायात खुला गर्नु सकारात्मक भएको तर स्वास्थ्य सावधानीको अवस्था के हुने भन्नेमा अन्योल भएको जनाएको खबर लक्ष्मण दर्नालको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।