कोरोना महामारीको कारण डेरावाल मात्र होइन, घरबेटी समेत आर्थिक समस्यामा परेका पाइएको छ । डेरावालले छ महिनादेखि भाडा नदिँदा कोठा भाडाबाट नै जीविका चलाउँदै आएकी काठमाडौंको सिनामंगलकी देवकुमारी काफ्लेले आफूहरूको जीविका चलाउन समस्या परेको बताइन् ।
उनको तीनतले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरतहरू भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्नेहरू गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खालि नै गर्छन्’– काफ्लेले सुनाइन् ।
बागबजारमा महिनाको दुई लाख रूपैयाँ भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् ।
कार्यालयका आवश्यक सामान ४–५ लाखका होलान्, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ रहेको खबर भवनाथ प्याकुरेलको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।