newskoseli.Com

समुदायमा फैलियो कि फैलिएन कोरोना ? १७ बाट २ प्रतिशतमा झर्‍यो संक्रमणदर

कोरोना संक्रमण समुदायमा फैलिए–नफैलिएको पत्ता लगाउन सरकारले पीसीआर परीक्षण र नमूना संकलनको दायरा बढाउने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमितको संख्या वृद्धि भएपछि कोरोना संक्रमण समुदायमा फैलिएको आंशका बढेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने– ‘संक्रमितको संख्या पूर्णरूपमा घटेको हो–होइन भनेर परीक्षण र नमूना संकलनको दायरा बढाउँछौं ।’ अहिले मुलुकका २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । हरेक दिन झन्डै ४ हजार व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ ।

क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको मात्र नमूना लिने गरिएकामा दायरा विस्तार गर्न लागिएको ईडीसीडीका निर्देशक डा. पाण्डेले जानकारी दिए । कोरोनाको उच्च जोखिममा रहेका १० वटा जिल्लामा थप नमूना संकलन गरिने भएको छ । असारको पहिलो साता ११ प्रतिशतको हाराहारीमा कोरोना संक्रमणको दर थियो । असार १९ गते संक्रमणदर वृद्धि भई १७ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । असार १९ गते सर्वाधिक ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

डा. गौतमका अनुसार अहिले संक्रमणदर २ प्रतिशतमा झरेको छ । आइतबार आयोजित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले थप ८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । योसँगै मुलुकमा पुष्टि भएका संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । संक्रमितमध्ये ८ हजार ५ सय ८९ निको भइसकेका छन् । कूल संक्रमितको ५१.१ प्रतिशत निको भैसकेको प्रवक्ता डा. गौतमले बताएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर