newskoseli.Com

चिनियाँलाई यसरी बेचे कर्मचारीले भिसा !

अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्री प्रकरणमा मुछिएका छन् । काफ्लेले पदको दुरुपयोग गरी तीन जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएपछि भिसा बिक्रीको पोल खुलेको हो ।

उनले कति रकममा भिसा बेचे भन्ने कुराचाहिँ अनुसन्धानकै क्रममा छ । उनले अध्यागमन विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर गोप्य ढंगले निकालेका थिए । त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ । तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड नै विभागसँग सुरक्षित छ । बरु केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ । विभागले त्यसकै आधारमा काफ्लेमाथि छानबिन थालेको हो ।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ । ती चिनियाँका कुनै पनि कागपत्र अध्यागमनमा छैनन् । मूलतः तिनै कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिने–नदिने निर्णय गर्छ । काफ्लेले कार्यालयबाहिर नै चिनियाँसँग भिसाको कारोबार गरेको देखिएको छ । उनले अध्यागमनका अन्य कर्मचारीलाई त्यसको सुइँको समेत दिएनन् ।

‘कर्तुत’ का आधारमा अझै फस्ने !

भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । ‘जो–कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन, कारबाही गर्छु’– महानिर्देशक केसीले भने । काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए । उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ । निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’ का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ ।

भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ । त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो । कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ । तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए ।

कार्कीले भिसा स्टिकरका लागि माग फारम भर्नुपर्ने भनेका थिए । तर, काफ्लेले माग फारममा केरमेट गरेका छन् । उनीहरू दुवै जनाले अध्यागमनका अधिकारीसमक्ष गल्ती स्वीकार गरेका छन् । विभागले उनीहरूसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो । विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । स्रोतका अनुसार उनीहरूको फाइल मंगलबार अख्तियार पठाइएको खबर शम्भु कट्टेलको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर