newskoseli.Com

‘समुदायस्तरमा फैलिएको छैन काठमाडौंमा कोरोना’

काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण समुदायस्तरमा नफैलिएको दावी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमूना परीक्षणबाट ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

सङ्क्रमित २ मध्ये २ जना विदेशबाट फर्किएका र १ जना ब्युटी पार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । ‘समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको छैन,’ प्रवक्ता प्रा.डा. गौतमले भने– ‘अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा सङ्क्रमण नफैलिएको कुरालाई नै पुष्टि गरेको छ ।’

सार्वजनिक सवारी साधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै कायम रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्कन समय लाग्ने उनले बताए । सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने गौतमले बताए ।

काठमाडौंमा ट्राभल हिस्ट्री नभएकामा समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन भनी पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताललगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको उनले बताएको खबर सरोज ढुङ्गेलको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर