सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाए । अर्का अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट ‘जनताको बहुदलीय जनवाद (जबज)’ को कुरा उठेपछि दाहालले आफूनिकट नेताको धारणा बुझे ।
शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग गर्ने तर त्यसका लागि ‘जबज’ स्वीकार गर्नुपर्ने प्रस्ताव ओली पक्षबाट आएको दाहालले सुनाए । तर, त्यो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ छ ।
‘राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्ने प्रस्ताव आएको थियो तर त्यसका लागि जबजलाई स्वीकार गर्नुपर्ने प्रस्ताव आयो, मैले त्यस्तो हुन्नँ भनेको छु,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘मंसिरमा महाधिवेशन सम्भव पनि छैन, जबज मान्ने कुरालाई पनि स्वीकार गरिएको छैन ।’
आइतबार दाहाल निवासमै भएको छलफलमा नेपालले पनि आफू जबजको पक्षपाती भएकाले अब जबजको बहस खुला गर्नुपर्ने र आगामी महाधिवेशनबाट त्यसलाई कार्यदिशा बनाएर जानुपर्ने धारणा राखेका थिए । यसबाट झस्किएका दाहालले स्थायी गुटबन्दीभन्दा पनि मुद्दाका आधारमा सहकार्य गरेर जाने नीति अवलम्बन गर्नुपर्ने बताएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।