नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जालगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् ।
सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी उनीहरूले थप मागमा सहमति गरेका छन् । तर, कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन । लामो र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दुरीका यातायात खुलाउने निर्णय गर्न विभागले तत्काल उच्चस्तरीय समितिलाई सिफारिस गर्ने सहमति भएको छ ।
यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान गर्ने सहमति भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिए । कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने भएको छ ।
यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको भने स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ । उपत्यकाका बस स्टेसनमा काठमाडौं महानगरपालिकाले स्वचालित स्यानिटाइजेसन राख्ने भएको छ । तर, कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने उपाध्यक्ष स्वाँरको भनाइ रहेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
अपडेटः
यसैबीच, मन्त्रिपरिषदको सोमबारको बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिएको जानकारीअनुसार साउन १५ देखि होटलहरू र भदौ १ देखि हवाई उडान खुला गर्ने निर्णय सरकारले गरेको छ ।
त्यसैगरी, हाल जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय समेत सरकारले सोमबार नै गरेको छ ।