newskoseli.Com

मेलम्ची गेटले थेग्नै सकेन पानी : के छ अध्ययनको प्रारम्भिक निष्कर्ष ?

मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नट–बोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नट–बोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुन सक्ने अनुमान गरिएको छ ।

कूल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ । सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडवर्क्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि मात्र सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुन सक्ने अध्ययन समितिको प्रारम्भिक आँकलन छ । खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । ‘नट–बोल्ट फिटिङमा केही समस्या हो कि गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ, हामी दुई–चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौं’– समितिका संयोजक दुवाडीले भने ।

सुरुङभित्र ५२ मिटर उचाइसम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो । तर, १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता र गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।

‘एक्कासि गेट खुलेर दुर्घटना हुन पुग्यो, प्राविधिकरूपमा सबै संरचना तयार भएपछि हामीले पानी पथान्तरण सुरु गरेका हौं तर गेट किन खुल्यो, प्रतिवेदन नआउन्जेल केही भन्न सकिँदैन’– मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने । सुरुङभित्रको पानीले बगाएको गाडी मेलम्ची खोलामा अड्किएको थियो । घटनामा मृत्यु तथा घाइते हुनेलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको खबर लक्ष्मण दर्नालको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर