newskoseli.Com

ओली–प्रचण्ड बैठक : ‘ठाकठुकमै सुरु, ठाकठुकमै अन्त्य’ !

राजनीतिक प्रसंगमा अचेल प्रायः ले सोध्ने एउटै प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन । कारण, दुई नेताबीच सम्बन्धको उतारचढावले वास्तविकता बुझ्नै गाह्रो छ ।

अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए । त्यो संवादहीनता तोड्दै आइतबार तीन घन्टा छलफल गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलेभन्दा वरिष्ठतम् सहयोगी पनि राखे । अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल ।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो । एउटा पदबाट राजीनामा दिनुपर्ने जिकिर दाहालले दोहोर्‍याए । त्यसमा कुरै नगर्ने अडान ओलीले कायम राखे । छलफलपछिको ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे । आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे । पार्टी एकता जोगाउने र पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्नेमा समेत चर्चा गरे ।

तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए । स्रोत भन्छ– ओली स्थायी कमिटीको बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए । दाहाल भने अवरुद्ध स्थायी कमिटीको बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए । एक सचिवालय सदस्यले भने– ‘प्रधानमन्त्री स्थायी कमिटीको बैठक बोलाउनेतिर देखिनु भएको छैन । केन्द्रीय कमिटी पनि ‘उचालेर’ बोलाउन खोजिएको भन्नेमा हुनुहुन्छ । उहाँ सचिवालय बैठक बोलाउने र ३ साउनको प्रस्तावकै आधारमा सचिवालयवाट प्रस्ताव तयार पारेर अगाडि बढाउने गरी जान खोज्नु भएको छ । त्यसमा कुरा बाझिइरहेकै छ ।’

साउन १३ मा ओलीले स्थायी कमिटी बैठक रोक्ने र दाहाल–नेपाल समूहले राख्ने दोहोरीबीच विवाद उत्कर्षमा पुगेको थियो । त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । तर, दाहाललाई उनी निकट नेताहरूको बैठकले ओलीसँग संवाद गरेर सहमति खोजी गरी स्थायी कमिटीको बैठक बोलाउन म्यान्डेट दिएको थियो ।

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसे । यसबीच दुवै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोखरेलले दाहालसँग एक चरण छलफल गरेका थिए । त्यसले संवादको वातावरण बनाएको थियो ।

बैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टीको बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो । दाहालले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरे । अहिले आफूले कुनै पद नछाड्ने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा ओलीले अड्डी लिए । बैठक सचिवालयको बोलाउने या स्थायी कमिटीको भन्नेमा पनि ओली–दाहालका आ–आफ्नै मत रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर