
नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० सम्म संक्रमितको संख्या ५९ मा सीमित थियो । जेठ १९ मा कूल संक्रमित १ हजार ८ सय ११ जना थिए । त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन् । जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो । असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो । त्यसको ठीक एक महिनापछि सोमबार (साउन २० मा) ४ सय १८ जना संक्रमित भेटिए ।
सोमबारको तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ । तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने– ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ ।’ संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ ।
कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो । त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो । मन्त्रालयका पूर्वविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेका स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो । कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो ।
जेठ १९ सम्म विभिन्न जिल्लामा कोरोना देखा परेको थियो । त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए । जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले भने– ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो, पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो, पीसीआर परीक्षण विस्तार हुन नसकेकैले भित्रभित्रै संक्रमित बढे।’
मन्त्रालयको तथ्यांकअनुसार असार १९ मा एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित पुष्टि भए । ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । तयसबेला कूल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो भने ३२ जनाको मृत्यु भएको थियो । अहिले त्यो संख्या बढेर ५७ पुगेको छ, एक महिनामा झन्डै ५ हजार संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि भएकामध्ये ‘निको भयो’ भन्दै सरकारले डिस्चार्ज गरेकाको संख्या १४ हजार नाघेको खबर दिनेश गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।