newskoseli.Com

‘क्षेत्र हेरेर लकडाउन, संक्रमण बढे सिल’ : प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

स्वास्थ्यविज्ञहरूले कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि क्षेत्र हेरेर लकडाउन गर्न र संक्रमण बढे सम्बन्धित स्थानमा सिल गर्न प्रधानमन्त्री खड्ग ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओली, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका सदस्य र राजनीतिक दलका नेता सम्मिलित बैठकमा मंगलबार विज्ञहरूले अस्पतालमा आईसीयू र भेन्टिलेटर बढाउन पनि जोड दिएका छन् ।

बालुवाटारमा करिव साढे ४ घन्टा चलेको बैठकमा विज्ञहरूबाट २१ दिन तोकेर कर्फ्यु लगाउनेसम्मका सुझाव आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोभिड– १९ संक्रमण रोकथाम र नियन्त्रणमा नागरिक उत्तरदायित्व बढाउने सुझाव आएको पनि उनले बताए । ‘प्रधानमन्त्रीज्यूले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी सरकार अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभयो’– थापाले भने ।

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सीसीएमसी निर्देशक समितिमा रहेका मन्त्रीहरूसँगै डा. शरद वन्त, डा. महेश मास्के, डा. भगवान् कोइराला, डा. दिव्यासिंह शाह, डा. सुवास आचार्य, डा. अर्जुन कार्की, स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलगायत उपस्थित थिए ।

आफूहरूले लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्छ भन्ने सुझाव दिएको जनस्वास्थ्यविद् समीरमणि दीक्षितले जानकारी दिए । ‘जहाँ–जहाँ संक्रमण छ, त्यहाँ लकडाउन कडा बनाउनुपर्छ । मान्छेलाई यो लकडाउन पूर्णरूपमा खुलेको होइन, खुकुलो मात्र भएको हो भन्ने सन्देश दिनुपर्‍यो, राज्यले पनि खुला नभनीकन खुकुलो भन्ने शब्द चलाउनुपर्छ भनेर सुझाव दियौं,’ उनले भने– ‘जुन वडामा संक्रमण छ, त्यहाँ कडा गर्नुहोस्, अरू वडा वा क्षेत्रमा कडा गर्नु पर्दैन भन्यौं । मास्क अनिवार्य गराउन र भीडभाड नगराउन पनि सुझाव दिएका छौं । परीक्षणलाई अझ बढाउनुपर्छ पनि भनेका छौं ।’

सरकारले लकडाउन पूर्णरूपमा खोलेको घोषणा गर्दा गलत सन्देश गएको बैठकमा सहभागी एक स्वास्थ्यविज्ञले बताए । ‘बढी मान्छे जम्मा हुने स्कुल, नाका, विमान अझै खोल्नु हुन्न,’ ती विज्ञले भने– ‘लकडाउन गरे पनि क्षेत्रअनुसार जहाँ बढी छ, त्यहीं गर्नुपर्छ । अस्ति त लकडाउन प्रभावकारी भएन । तर जुन क्षेत्रमा लकडाउन गर्ने हो त्यहाँचाहिँ कडा हुनुपर्ने गरी अब काम गर्नुपर्छ ।’

कोरोना संक्रमण आएको ५ महिना हुँदा समेत सरकारले पर्याप्त भौतिक पूर्वाधार व्यवस्था गर्न नसकेको, एउटै वा छुट्टा–छुट्टै अस्पतालहरू कोरोना उपचारका लागि पूर्णरूपमा तयारी अवस्थामा नरहेको, सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको, कोरोना लागेको बिरामी अस्पताल ल्याएर उपचार गर्नुपर्दा सरकारी संयन्त्रहरूबीच सहकार्य नभएको भन्दै चिकित्सकहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले कोभिड–१९ संक्रमण बढिरहे पनि लकडाउन लगाउने वा नलगाउने भन्नेबारे कुनै निर्णय नगरेको बताए । संक्रमणको अवस्थालाई सीसीएमसी सचिवालय र सरकारले गम्भीर रूपमा हेरिरहेको उल्लेख गर्दै आवश्यकताअनुसार सरकारले कदम चाल्ने उनले बताएको खबर जगदीश्वर पाण्डेस्वरुप आचार्यको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर