newskoseli.Com

प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच मध्यरातमा यस्ता कुराकानी !

‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपराह्न बानेश्वरस्थित अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधान न्यायाधीशलाई प्रभावित पार्न खोजिएको वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन् ।

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधान न्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो । सरकार र प्रधान न्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधीबहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सुनाए । उनका अनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ । कार्यदलले दिने रिपोर्टका आधारमा बुधबार अपराह्न ४ बजे फेरि अर्याल होटलमै बसेर एउटा निश्कर्ष निकालिने छ ।

अर्याल होटलको उक्त भेलामा १५ जना प्राध्यापकसहित करिव ४० वरिष्ठ अधिवक्ता उपस्थित थिए । त्यहाँ सहभागी वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाका अनुसार न्याय प्रणाली र अपभ्रंसित न्यायका बारेमा गम्भीर चिन्ता व्यक्त गरियो । बारका पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्कासहित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, हरि उप्रेती, डा. कुमार शर्मा आचार्य, रविराज खनाल, सुनिल पोख्रेल, शैलेन्द्र दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, एकराज भण्डारी, तुलसी भट्ट, टीकाराम भट्टराई, माधव बाँस्कोटा, युवा कानुन व्यवसायी कपिल ढकाल, जितेन्द्र मडै, ज्ञानु गौतम, अमृत खरेल, बाबुराजा शाक्यहरु त्यहाँ थिए । बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले भने– ‘कार्यकारी र न्यायपालिका एउटै हुनु भनेको दुर्भाग्य हो । त्यसैले अब हामी चूप लाग्ने कुरै आउँदैन ।’ सुरुमा उनीहरुले सांसदलाई घचघच्याएर समाधान खोज्ने, यदि त्यसरी समाधान ननिस्किए सडकमा जाने नीति अख्तियार गर्दैछन् ।

उक्त भेलामा के–के भए श्र यसबारे भेलाबाट फर्किएपछि वरिष्ठ अधिवक्ता प्रा.डा. संग्रौलाले फेसबुक वालमा लेखेका छन्– ‘अदालतमा भ्रष्टाचार छ, बिचौलिया छन्, हिजो गोजीबाट न्यायाधीश टिप्ने काम भयो । असल मानिसको मानमर्दन भयो, न्यायाधीश भएका एक जनाले आत्महत्यासम्म गर्नुपर्ने अवस्था आयो । सेटिङ मिलाउने कार्यका बारेमा रोचक कुराहरू भए । न्यायाधीश हुन कुद्नेका बारेमा पनि कुरा उठे । संसदले के हेरेर न्यायाधीशको नियुक्ति सदर गर्‍यो ? अब यो पनि… उठ्नुपर्ने कुरा उठे । सुनुवाइको समयमा सांसदका घरमा न्यायाधीशहरु पुगेका, केही सांसदले हात चिल्ला पारेका कुरा पनि उठे ।’

वरिष्ठ अधिवक्ता तथा केही वकिलहरु प्रधानमन्त्री तथा प्रधान न्यायाधीशकाे ‘षड्यन्त्र’ विरूद्ध जुर्मुराएको यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर