newskoseli.Com

‘दास’ भन्दै विष्णु पौडेलसामु प्रचण्ड पड्किएपछि…

अध्यक्ष प्रचण्ड र महासचिव पाैडेलका बेग्लाबेग्लै फाइल तस्बिरबाट

‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरू जत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?’ सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरु दिनभन्दा फरक किसिमले यसरी प्रस्तुत भएपछि पहिले शंकर पोखरेलले जवाफ दिए– ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास… !’

अनि प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने– ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनुपर्‍यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले दासको संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष खड्ग ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरा मात्र सुनाउनु र त्यसैलाई मानिदिनुपर्ने प्रस्ताव दोहोर्‍याइरहनु । यस्तो भएपछि प्रचण्डले ‘पार्टीका नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु गराउने ध्येयसहित त्यहाँ पुगेका थिए । प्रचण्डले सुरुमै भने– ‘निकास निकाल्ने हो भने वार्ता गरौं ।’ अनि थपे– ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्मखालको अहम् देखियो । यस्तो अहमले पार्टी र मुलुकलाई क्षति गर्ने बाहेक अर्को निकास दिँदैन ।’

त्यसपछि आइतबार र सोमबार पूर्वएमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले तर निकास भने निस्किएन । बरु, दुवैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् । विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौं, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।

तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए– ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔं भन्नुहुन्छ ।’ यसपछि नै हो– ‘दास’ भन्दै प्रचण्ड पड्किएका ।

सत्ताधारी पार्टीका अध्यक्षद्वयबीच चर्केको द्वन्द्वको एउटा आयामसम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर