newskoseli.Com

दुई अध्यक्षबीच फेरि बोलचालै बन्द !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फेरि सम्बन्ध चिसिएको छ । पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्षद्वयबीच हुँदै आएको वार्ता समेत हुन सकेको छैन ।

केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै ओलीले वार्ता स्थगित गरेका थिए ।

दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र जनार्दन शर्मालगायतका नेता लागे पनि दुवै अध्यक्षले आ–आफ्नो अडान राख्दा सम्भव हुन नसकेको एक नेताले बताए । डेढ महिनाअघिदेखि सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । विवाद समाधानका लागि ओली र प्रचण्डबीच भएका दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आएका छन् भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन् । ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राख्दै आएका छ भने दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा जारी विवादको समाधान हुन नसकेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर