newskoseli.Com

ओली–प्रचण्डबीच केमा मिल्याे कुरा ? ‘प्याकेजमा सहमति खोज्न’ ६ सदस्यीय कार्यदल

तीन महिनादेखि चरम आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ‘प्याकेजमै सहमति खोज्न’ शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

दुई अध्यक्ष खड्ग ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि ‘सहमतिको प्याकेज तयार पार्न’ महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने वरिष्ठ नेता माधव नेपाल समूहले बताउँदै आएको थियो ।

कार्यदलले दिने सुझावका आधारमा प्याकेजमै विवाद समाधान गर्ने अध्यक्षद्वयको चाहनाबमोजिम कार्यदल बनाइको हो । कार्यदलमा नेकपाका दोस्रो तहका नेताहरूलाई राखिएको छ । ओली पक्षबाट महासचिव पौडेल र प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेल, दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा छन् ।

पार्टीको महाधिवेशन, संगठनात्मक संरचना हेरफेर, संघीय मन्त्रिपरिषद् हेरफेर, प्रदेशमा मुख्यमन्त्रीहरूको हेरफेर, पार्टी र सरकार सञ्चालन, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा उत्पन्न विवाद प्याकेजमै टुंगो लगाउने सहमति अध्यक्षद्वयबीच भएको छ ।

विवाद समाधानका लागि कार्यदल गठन हुनुलाई नेपाल पक्षले ‘संवादहीनताको अन्त्य’ महसुस गरेको छ । ‘के भएको छ, जानकारी छैन । दुई अध्यक्षले विस्तृतरूपमा छलफल गरेका होलान् । दुई अध्यक्षबीचमा छलफल कसरी अघि बढेको छ भन्नेबारेमा नेता माधव नेपाललाई पूरै जानकारी छैन,’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने– ‘कार्यदल बन्नु राम्रो हो । यसले पार्टीभित्रको गतिरोध अन्त्य हुने अपेक्षा छ ।’

कार्यदलका संयोजक पौडेलले शनिबारबाटै आफूहरूले काम सुरु गर्ने र विवाद समाधानका विषयमा प्रस्ताव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने बताए । ‘पार्टीभित्रका समस्यालाई सकारात्मकरूपमा समाधान गर्ने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको छ’– पौडेलले भने । उनका अनुसार बिहीबार र शुक्रबारको संवादमा दुई अध्यक्षबीचमा धेरै विषयमा गम्भीर छलफल भएको छ ।

‘छलफलपछि उहाँहरू महत्त्वपूर्ण निष्कर्षमा पुग्नुभएको हो, समस्याको सकारात्मक समाधान खोज्दै नेकपाको एकतालाई अक्षुण्ण राख्नुपर्छ भन्ने विषयमा उहाँहरू सहमत हुनुहुन्छ,’ पौडेलले भने– ‘नेपाली जनताले हाम्रो पार्टीबाट जुन अपेक्षा गरेका छन्, त्यसलाई सार्थक पार्न एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’ सत्ताधारी नेकपाभित्रको रडाकोले लिएको नयाँ मोडसम्बन्धी यो खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर