newskoseli.Com

ओली–मोदी फोनवार्ता : ‘एक भएर कोरोनाविरुद्ध लड्ने’, अरू के–के कुरा भए ?

प्रधानमन्त्री खड्ग ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको टेलिफोन वार्तामा प्रम ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल सरकार र नेपाली जनता तथा आफ्नै तर्फबाट समेत प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई शुभकामना तथा हार्दिक बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले भारतीय जनताको निरन्तर प्रगति र समृद्धिका लागि पनि शुभकामना व्यक्त गरेको जनाइएको छ । प्रधानमन्त्री मोदीले भारतको स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन औंल्याउँदै छिमेकीलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएकोमा प्रधानमन्त्री ओलीले सराहना गरेको मन्त्रालयले जनाएको छ । नेपालले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरेको समेत फोनवार्तामा ओलीले स्पष्ट पारे ।

फोनवार्ताका क्रममा दुई प्रधानमन्त्रीले कोभिड– १९ विरुद्धको लडाइँमा भएका पछिल्ला प्रयासहरूको बारेमा अनुभव आदान–प्रदान समेत गरे । कोभिड नियन्त्रणका लागि यस क्षेत्रमा मिलेर काम गर्न नेपाल र भारतका प्रधानमन्त्रीले सहमति जनाए । सो क्रममा प्रधानमन्त्री ओलीले महामारीका विरुद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारले गरेको प्रयासबारे समकक्षी मोदीसमक्ष विचार आदान–प्रदान गरेको बताइएको छ ।

कोभिड खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै नेपालका प्रधानमन्त्रीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने आशा व्यक्त गरे, जसले यस रोगलाई फैलनबाट रोक्न र नियन्त्रण गर्न सक्नेछ । भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको अस्थायी सदस्यको निर्वाचनमा जित हासिल गरेकामा प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिए । यो महत्त्वपूर्ण जिम्मेवारीको सफल निर्वाहका लागि ओलीले शुभकामना समेत व्यक्त गरे । दुवै प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयमा छलफल जारी राख्ने कुरामा सहमति जनाएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर