newskoseli.Com

‘जीवनमै पहिलो पटक देखियो– तीजमा सुनसान पशुपति’

कोरोना यति ठूलो महामारी बनेर आइदियो, पहिलो पल्ट तीजमा ‘हिन्दूका आराध्यदेव’ को मन्दिर पशुपतिमा ताला लगाउनु परेको छ । गतवर्ष तीजमा झन्डै १० लाखले पशुपतिनाथको दर्शन गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ ।

वर्षेनि लाखौं ब्रतालु महिला पुगेर पूजा, दर्शन र नाचगान गर्ने पशुपति क्षेत्र शुक्रबार भने सुनसान रह्यो । जीवनमा कहिल्यै थाहा नपाएको भोगाइ यस पटक भएको इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले बताए । उनले भने– ‘यसरी तीजमा पशुपतिनाथ जानै नहुने वा नगएको भन्ने आजसम्म थाहा छैन ।’ उनका अनुसार वि.सं. ४०० तिर प्लेग रोगले काठमाडौंमा करिव २० हजार व्यक्तिको मृत्यु भएको थियो । त्यतिबेला पशुपति मन्दिर बन्द भए–नभएको यकिन छैन ।

त्यसभन्दा जटिल परिस्थिति अहिले महसुस भइरहेको छ । ‘बचेरै पूजाआजा गर्नु स्वास्थ्यका दृष्टिले पनि उत्तम हो,’ पन्तले भने– ‘सबै मिलेर जोगाए मात्र संस्कृति जोगिने हो । तर, यो वर्ष कम्तिमा सबै जोगिऔं, त्यसपछि संस्कृति जोगाउँला ।’ निषेधाज्ञाका कारण बाहिर निस्कन प्रतिबन्ध छ । विविध उपाय गरेर पशुपति दर्शन गर्न पुगेकालाई समेत यसपालि अनुमति दिइएन ।

सरकारले जात्रा, पर्व, जमघट आदिमा प्रतिबन्ध लगाएकाले दर्शन खुला गर्न सम्भव पनि थिएन । त्यसमाथि संक्रमणको जोखिम छँदै थियो । ‘बिहानै करिव दुई हजार महिला पशुपतिनाथ आउनुभएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषकै सुरक्षाकर्मीले हटायौं,’ कोषका सुरक्षाकर्मी भीम बुढाथोकीले भने– ‘साउने सोमबारमा लकडाउन भनिए पनि अटेर गरेरै पाशुपत क्षेत्रमा आएर पूजा गर्ने सयौं भए, अहिले त निषेधाज्ञा छ ।’

कोरोना संक्रमणका कारण यस पटकको तीजमा ब्रतालुले पशुपतिनाथ जान नपाउँदा ‘खल्लो, अत्यन्तै खल्लो’ भएको संस्कृतिविद् डा. जगमान गुरुङले टिप्पणी गरे। ‘हिन्दू धर्मावलम्बी नारीको श्रद्धा, विश्वास र संस्कारमा ठेस लागेको छ,’ उनले भने– ‘यो तीज नुन नहालेको तरकारीजस्तै खल्लो भयो ।’

उनका अनुसार घोडेजात्रा, बिस्केटजात्रा, सेतो मच्छिन्द्रनाथको रथयात्रा– सबैमा कोरोनाले छेकबार लगाएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा अधकल्चो बनेर बसेको छ । ‘यस्तै हो भने दसैं–तिहार समेतलाई असर पर्ने देखिन्छ’– उनले भनेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर