newskoseli.Com

यी नियम पालन गर्नोस्, कोरोनाबाट बच्नोस् !

कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? केही सामान्य स्वास्थ्य मापदण्ड पालना गरे कोरोनाबाट बचिने सुझाव कोरोना सङ्क्रमण भई निको भएकाहरु तथा चिकित्सकहरूले दिएका छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउँछिन् । दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमानसहित स्वाब परीक्षणका लागि टेकु पुगिन् तर श्रीमानको रिपोर्ट नेगेटिभ आयो ।

घरमा कोही आउँदा पनि उनका श्रीमान् मास्क लगाएर कुरा गर्थे । मास्क खोलेर कुरा गर्नुभन्दा जोखिमका बेला सतर्क हुनुपर्ने ती महिलाको भनाइ छ । कोरोना सङ्क्रमण हुन नदिन सामान्य सतर्कता अपनाउँदा कोरोनाबाट सजिलै बच्न सकिने धेरैको अनुभव छ । एक दम्पतीका श्रीमान् जोगिनु तर श्रीमतीमा संक्रमण देखिनुमा शरीरको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) मात्र नभई स्वास्थ्य सतर्कता नै महत्त्वपूर्ण भएको पाइएको छ ।

एउटै परिवारभित्र कसैमा कोरोना देखिनु र कसैमा नदेखिनुमा इम्युनिटी पावरसँंगै स्वास्थ्य सतर्कता मुख्य भएको कोरोना सङ्क्रमितको उपचारमा संलग्न सशस्त्र प्रहरी बल बलम्बुका चिकित्सक डा. प्रविन नेपाल बताउँछन् । घरबाहिर निस्कँदा वा घर तथा कार्यालय, आफन्त, परिवार, साथी र बाक्लो जमघटमा पनि सामाजिक दूरी कायम राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको प्रयोग र्गने र सरसफाइमा उचित ध्यान दिने हो भने सङ्क्रमणको जोखिम न्यून हुने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कतिपय सर्वसाधारणले मास्क समेत नलाउने गरेको बताउँछन् । केही दिनअघिको एउटा सर्वेक्षणले ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गरेको देखाएको थियो । उचित ढङ्गले मास्कको प्रयोगसँगै घर तथा कार्यालयभित्र र घरबाहिर सामाजिक दूरी कायम राख्ने हो भने सजिलै जोगिन सकिने उनको भनाइ छ । मास्क लगाए पनि भीडभाडको यात्रा भने असुरक्षित नै हुने प्रवक्ता गौतमको भनाइ रहेको खबर देवबहादुर कुँवरको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर