newskoseli.Com

चितुवासँग कुस्ती खेलेर मुश्किलले बाँचे हरिबहादुर !

लमजुङका एक व्यक्ति चितुवासँग भिडेर बाँचेका छन् । उनकै आक्रमणमा चितुवा भने मरेको छ । जंगलनजिकै घर भएका बेंसीसहर नगरपालिका– ९, साम्दीगाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिँडेको पोथी चितुवाले एक्कासि आक्रमण गरेको थियो ।

‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई बचाउन आए,’ हरिबहादुरले भने– ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिएँ ।’ देब्रे हातले चितुवाको आक्रमण छेक्दै दाहिने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको उनले बताए । ‘छोरा आएपछि दुवै जना मिलेर चितुवासँग १० मिनेटजति कुस्ती खेल्यौं,’ हरिबहादुरले भने– ‘खुर्पाको चोटले चितुवा थाक्दै गयो र आक्रमण गर्न छाड्यो ।’

‘बुबाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउँथ्यो, म टुहुरो हुनबाट बचें’– छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट बचेका बुबा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको र शरीरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि जिल्लामा रेविजको खोप नभएका कारण काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

जिल्ला सदरमुकाम बेंसीसहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घटना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घटना बिहान ८ बजे भएको वन कार्यालयको भनाइ रहेको खबर नवराज पहाडीको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर