newskoseli.Com

न फाल्न सक्छन् न त पाल्न सक्छन् : अविवाहित आमाहरुको पीडा

अनिच्छित गर्भहरू प्रायः फालिन्छन् । तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन । जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन् ।

सुनसरीको इटहरीकी १८ वर्षीया एक किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन् । उनको गर्भमा ८ महिनाको बच्चा छ । कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन् । गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि ‘प्रेमी’ ले स्वीकार गर्ने आश्वासन दिए । तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन् । उनी प्रेमीकै गाउँसम्म पुगिन् ।

‘तर, उसले अर्को बिहे गरिसकेको थाहा पाएपछि समस्या भयो,’ उनले भनिन्– ‘न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै ।’ फाल्नका लागि ज्यान जोखिममा पार्नुपर्थ्यो, पाल्दा समाजलाई जवाफ दिनुपर्थ्यो । दुवै गर्न नसक्ने अवस्थामा आमासँगको सल्लाहपछि उनी इटहरीस्थित श्रमिक महिला साझा मञ्चको आपतकालीन आवासगृहमा बसिरहेकी छन् ।

जिम्मा लिने भरपर्दा संस्था पनि नहुँदा जन्मिने बच्चा कुनै परिवारलाई दान गर्ने सोच बनाएको उनले बताइन् । ‘बच्चा नभएको परिवारलाई दिएर उज्यालो बनाइदिन्छु,’ उनले भनिन्– ‘त्यसपछि म पढ्छु, काम गर्छु, केही गरेर देखाउँछु ।’

आवासगृहमै बस्ने २८ वर्षीया अर्की एक महिलाले केही साताअघि बच्चा जन्माएर अस्पतालबाटै दान गरिन् । शारीरिकरूपमा अपांगता भएकी ती महिलाले जन्माएको बच्चाको बाबु पत्तो लागेन । उनले बच्चा पाल्न सक्ने अवस्था पनि रहेन ।

यस्तै, स्कुले ‘प्रेम’ मा परी गर्भवती बनेकी १९ वर्षीया एक किशोरी पनि ११ महिनाकी छोरी अर्कै परिवारलाई दिन चाहन्छिन् । ‘प्रेमी’ र परिवारले हेला गरेपछि उनले घर छाडेकी हुन् । आवासगृहमा बसिरहेकी उनले भनिन्–‘दिदीलाई बच्चा दिएर म विदेश जान्छु, कुरा गरिसकेकी छु ।’

बच्चा पाल्न समस्या हुने आमाहरूको संख्या ठूलो छ । कमजोर आर्थिक अवस्थाका महिलाले छोराछोरीलाई अरूको घरमा काम गर्न राख्ने गर्छन् । तर, त्यसरी काम गर्न राखिएका बालबालिका भने दुर्व्यवहारमा समेत पर्ने गरेको खबर हिमाल दाहालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर