newskoseli.Com

किन रन्किए उपत्यकाका सांसदहरु ?

कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक–पटक दिइएको सुझावको सुनुवाइ नभएको भन्दै प्रतिनिधिसभामा काठमाडौंबाट निर्वाचित सांसदहरूले आक्रोश पोखेका छन् । कोरोना महामारी नियन्त्रणबारे सरकारलाई पटक–पटक सुझाव दिइए पनि नसुनेको भन्दै काठमाडौंबाट प्रतिनिधिसमा प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसका १० सांसदहरुले आक्रोश पोखेका हुन् ।

संक्रमणको गति तीव्ररूपमा बढ्दै जाँदा समेत सरकारले न्यूनीकरण र रोकथामको तयारीलाई तीव्रता दिन नसकेको र पटक–पटक दिइएको सुझावलाई समेत बेवास्ता गरेको कांग्रेस सांसद गगनकुमार थापाले बताए । ‘संक्रमणको गति जुन रूपबाट तीव्र गतिमा अघि बढिरहेको छ, त्यो गतिमा सरकार पक्षको तयारी अघि बढेको देखिएको छैन, संक्रमित बढ्दै जाँदा सरकार झनै सुस्ताएको जस्तो देखिँदैछ’– सांसद थापाले भने ।

काठमाडौंमा कोरोनाबाट संक्रमित भएकाहरूलाई राख्न तत्कालै १० हजार आइसोलेसन बेड तयार पार्नुपर्ने, संक्रमितहरूलाई छुट्टै राखिनुपर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ तत्काल गरिनुपर्नेलगायतका सुझाव सरकारलाई पटक–पटक दिइएको भए पनि सुनुवाइ खासै नभएको उनले बताए ।

कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच ठीकसँग संयोजन नभएको नेकपाकी सांसद शशी श्रेष्ठले बताइन् । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जुन संयोजन आवश्यक थियो– त्यो देखिएन, महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउन दबाब दिनुपर्छ’– सांसद श्रेष्ठले भनेको खबर महेश्वर गौतमको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर