newskoseli.Com

महामारीबीच नै शैक्षिक क्षेत्र ‘चलायमान’ हुँदै, तर कसरी ?

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट गम्भीररूपमा प्रभावित भएको शिक्षा क्षेत्र बिस्तारै चलायमान हुने सङ्केतहरु देखिएका छन् । यसै महामारीबीच विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन सरकारले बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले पनि लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटरको अनुमति दिने गरी बाटो खोल्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषदले बाटो खोलेको छ । विदेशमा पढ्न जानका लागि विद्यार्थीलाई चाहिने ‘नो अब्जेक्सन लेटर’ दिन मन्त्रालयले सरकारसित अनुमति माग गरेको शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले जानकारी दिए । सरकारले त्यसका लागि दिएको स्वीकृतिपत्र मन्त्रालयमा प्राप्त हुन भने बाँकी छ ।

सरकारको पत्र प्राप्त भएलगत्तै अब बाहिरी मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई बाटो खुल्नेछ । विद्यार्थी तथा अभिभावकको चरम दबाबपछि मन्त्रालयले अनुमतिका लागि मन्त्रिपरिषदसित स्वीकृति माग गरेको शिक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

विदेशमा पढ्न पाउने विद्यार्थीको अधिकार सरकारले वञ्चित गरेको गुनासो थेग्न कठिनाइ भएको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले बताए । विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन सरकारले आफूलाई लिखितरूपमा अनुमति दिएको अवस्थामा यसका लागि प्रक्रिया थाल्ने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय हवाई उडान प्रारम्भ हुन नसकेको अवस्थामा नेपाली विद्यार्थी विदेशी विद्यालय–विश्वविद्यालयमा भर्ना हुन सहज भने नभएको खबर शेषकान्त पण्डितको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर