newskoseli.Com

निषेधाज्ञामै संक्रमण झन् किन बढिरहेछ ? यसाे भन्छन् विज्ञहरू…

काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झनझन् बढ्दो छ । पछिल्लो २४ घन्टामा (आइतबार) १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच काठमाडौं उपत्यकामा मात्रै आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

निषेधाज्ञाबीच किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्– ‘कोरोनाभाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो । यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो । कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ, कतिपयलाई भने १४ दिनसम्म पनि देखिन सक्छ ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन । त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालना समेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन् । डा. पुन भन्छन्– ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला, संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविकरूपमा उठेको छ ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन् । कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा. मरासिनीको ठम्याइ रहेको खबर दिनेश गौतमको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
नेपालमा कोरोना : यथार्थ र भ्रम – डा. शेरबहादुर पुन

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर