newskoseli.Com

केन्द्रीय कारागारमा १०० जना स‌ंक्रमित

राजधानीको जगन्नाथदेवल, सुन्धारास्थित केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीसहित १०० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ । ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी १०० जनामा कोरोना सङ्क्रमण देखिएको केन्द्रीय कारागारका प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुई जनालाई ७ दिनमै निको भइसक्यो,’ उनले भने– ‘लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।’

केन्द्रीय कारागारमा ३ हजार २ सय ६३ जना कैदीबन्दी रहेका छन् । तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुन सक्ने जनाइएको छ । बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको कारागार प्रमुख बास्कोटाले बताए । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौं, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’– उनले थपे ।

कारागार व्यवस्थापनले बाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउनेजस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ । ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तिनका आफन्तलगायत बाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ ।

स्वास्थ्योपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेन्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरिएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर