newskoseli.Com

फेरि ‘सत्याग्रह’ बस्दै डा. गोविन्द केसी : रोक्ने प्रयासमा घेरा हाल्दै प्रहरी

सुदूरपश्चिमलगायत कणालीका दुर्गम वस्तीमा स्वास्थ्यसेवा दिँदै जुम्ला पुगेका डा. गोविन्द केसीले साउन ३२ मा पत्रकार सम्मेलन गरेर आफ्ना माग सम्बोधन गर्न सरकारलाई भदौ १० सम्मको समय दिए । स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूले राखेका माग भदौ १० सम्म सम्बोधन नभए ११ देखि ‘सत्याग्रह’ बस्ने घोषणा उनले गरेका थिए ।

त्यसबीचमा डोल्पा र मुगुका केही वस्तीमा पुगेर उनले स्वास्थ्य सेवा दिन थाले । गाउँमै विशेषज्ञ सेवा लिन पाउँदा गाउँले निकै खुसी भए । त्यहाँबाट जुम्लाको खलंगा फर्किएपछि भने उनीमाथि प्रहरी निगरानी बढ्न थाल्यो । उनले भदौ ११ मा सत्याग्रह थाल्ने तयारी गरेका थिए । डा. केसी बसेको क्षेत्रमा त्यस दिन बिहानैदेखि पूर्ण निषेधाज्ञा घोषणा गरियो ।

डा. केसीलाई भेट्न जुम्लाका सीडीओ र डीएसपी एकाबिहानै होटलमै पुगे । उनीहरूले ‘जोखिमपूर्ण परिस्थितिमा सत्याग्रह नबसिदिन’ डा. केसीलाई आग्रह गरे । ‘त्यही आग्रहअनुसार सत्याग्रह एक साता स्थगित गर्न पुगें, म एक सातासम्म सत्याग्रह स्थगित गर्छु, त्यसपछि दुनियाँको जुनसुकै शक्ति आए पनि सत्याग्रह रोक्न सक्नेछैन । तपाईंहरू पनि मेरो सत्याग्रहमा बाधक नबन्नुहोला भन्दै पठाएँ’– डा. केसीले त्यस बिहान सीडीओ र डीएसपीलाई भनेका थिए ।

डा. केसी होटल रोयल गार्डेनमा बसेका छन् । उनलाई भदौ ११ गते दिनभर होटलको कोठाबाट बाहिर निस्कन दिइएन । दुई–तीन पटक होटलको गेटबाहिर आउन खोजेका डा. केसीलाई धकेलेर प्रहरीले भित्र पठायो । ‘अस्पताल जान्छु भन्दा पनि दिएनन्, सीडीओ सा’पको आदेश भन्दै होटलभित्र थुनिरहे, त्योभन्दा ठूलो अपमान के हुन सक्छ ?’ उनले भने ।

१८ गते थालिने सत्याग्रह रोक्ने प्रयास भएमा स्थानीय प्रशासनविरुद्ध सत्याग्रह थाल्ने चेतावनी डा. केसीले दिएका छन् । ‘म बसेको होटलबाहिर घेरा हाल्न प्रहरी परिचालन गरिएको छ । मैले स्थानीय प्रहरी प्रशासकलाई जनताको सेवक बन्नोस् भनिसकेको छु’– डा. केसीले थपे । केसी जुम्ला आएदेखि नै प्रहरी प्रशासनको निगरानी बढेपछि सत्याग्रहमा सरकारी दमन हुन सक्ने भन्दै जुम्लावासी डराएका छन् ।

डा. गोविन्द केसीलाई सत्याग्रह बस्न नदिन उनी बसेको होटल वरिपरि प्रहरी परिचालन गरिएको छ । दुई वर्षअघि जुम्लामै सत्याग्रह बसेका डा. केसीलाई काठमाडौं लैजान बल प्रयोग गरेको थियो । त्यतिबेला केसीको अनसन बिथोल्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहित सुरक्षा अधिकारीको टोली जुम्ला पुगेको थियो ।

केसीलाई अस्पतालबाट उठाएर लैजान खोजेको सरकारी टोली र प्रतिष्ठानका कर्मचारी–विद्यार्थीबीच झडप भएको थियो । त्यस क्रममा अस्पतालमा उपचाररत सर्वसाधारण समेत घाइते भएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर