newskoseli.Com

डा. खतिवडा फेरि मनाेनीत हुनु र अर्थमन्त्री बन्नु गैरकानुनी : यसरी छेक्छ संविधानले

डा. युवराज खतिवडाको मन्त्रीय कार्यकाल सकिएपछि उनलाई फेरि सोही पदमा ल्याउन संविधान नै बाधक हुने भएको छ । नेपालको संविधानको धारा ७८ (१) बमोजिम संसदका दुवै सदनको सदस्य नभएको व्यक्तिलाई समेत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । धारा ७८ (२) मा भने त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान छ ।

मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा सो व्यक्ति हाल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर mेरि मन्त्री हुन नसक्ने संवैधानिक प्रावधान छ । खतिवडालाई संविधानको धारा ८६ (२) (ख) बमोजिम २०७४ फागुन २१ मा राष्ट्रियसभाको सदस्य मनोनीत गरिएको थियो । मनोनीत भएपछि उनी अर्थमन्त्री भएका थिए । गोला प्रथाबाट उनको कार्यकाल २०७६ फागुन २० मा सकिएको थियो ।

त्यसपछि संविधानको धारा ७८ (१) बमोजिम उनलाई फेरि मन्त्री पदमा मात्र नियुक्ति दिइएको हो । एक पटक कार्यकाल सकिएको व्यक्ति फेरि मन्त्री बन्ने मात्र होइन, संसदको सदस्य बन्नका लागि नै अयोग्य हुने संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली बताउँछन् । मन्त्री खतिवडाको मन्त्री पद सकिएपछि उनलाई फेरि राष्ट्रियसभामा सदस्य बनाई लाने चर्चा चलिरहेको छ । संविधान तथा राष्ट्रियसभा नियमावली, २०७५ ले एक जना व्यक्तिको राष्ट्रियसभा सदस्यको कार्यकाल बढीमा ६ वर्ष तोकेको उल्लेख गर्दै दुई वर्षमा कार्यकाल सकिएको व्यक्तिलाई फेरि मनोनीत गर्दा उसको कार्यकाल ८ वर्षको हुने संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. ज्ञवाली बताउँछन् ।

त्यस्तै, ४ वर्षमा कार्यकाल सकिएर अवकाश हुनेलाई फेरि मनोनीत गरिए उसको कार्यकाल १० वर्षको हुने र त्यो प्रक्रिया संविधान तथा नियमावलीविपरीत हुने उनले उल्लेख गरे । राष्ट्रियसभा स्थायी सदन हुने भएकाले सुरुमा गठन हुँदा मात्र यसका सदस्यको कार्यकाल २, ४ र ६ वर्ष गरी छुट्याइएको हो । त्यसपछि पालैपालो एक तिहाई सदस्यको मात्र कार्यकाल सकिने र तिनको चुनाव वा मनोनयन हुँदै जाने भएकाले यो सदन कहिल्यै खालि हुँदैन ।

एक पटक कार्यकाल सकिएकालाई ६ वर्ष पूरा नहुँदै फेरि मनोनयन गर्ने हो भने सरकारले नै संविधान संशोधन गरेको ठहरिने वरिष्ठ अधिवक्ता डा. ज्ञवाली बताउँछन् । यदि सरकारले त्यस्तो गरिहालेमा परीक्षण गर्नका लागि अदालतको बाटो खुला हुने समेत उनले उल्लेख गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर